मजहबबाट स्वतन्त्रता: किन पर्सियाली र कुर्दहरू धमाधम छोड्दैछन् इस्लाम ?

२०८२ माघ २२ विहीवार
सारांश
  • फारसी र कुर्दहरू इस्लामबाट विमुख हुनु भनेको प्रामाणिकताको खोजी, स्वतन्त्रताको माग र त्यस क्षेत्रको भविष्य विगतको कट्टरपन्थी विचारले निर्धारण गर्दैन भन्ने घोषणा हो ।

पश्चिम एसियामा इस्लामिक कट्टरताबाट आजित भएका मानिसहरूमा गहिरो र शान्त किसिमको क्रान्ति भइरहेको छ । 


दशकौंदेखि इरानको इस्लामिक गणतन्त्र र विभिन्न कुर्द क्षेत्रहरू मजहबी शासन र परम्परावादी सामाजिक संरचनाका पर्यायवाची रहेका छन् । तर, विगत केही वर्षयता ठूलो संख्यामा फारसी र कुर्दहरूले इस्लामी मजहब त्यागिरहेका छन् । उनीहरू त्यसको साटो नास्तिकता, अज्ञेयवाद, पन्थनिरपेक्ष मानवतावाद वा जोरोस्ट्रियन विचारधारा जस्ता इस्लामपूर्वका धर्महरूतर्फ आकर्षित भइरहेका छन् ।

 

यो घटना व्यक्तिगत विश्वासमा आएको परिवर्तन मात्र नभई मजहबी निरंकुशताविरुद्धको सामाजिक–राजनीतिक विद्रोह र अरबी–इस्लामिक विजयहरूभन्दा अघिको जातीय पहिचानको पुनः प्राप्तिको प्रयास हो । यस महान् मजहबी परित्यागलाई बुझ्नका लागि राजनीतिक मोहभंग, जातीय राष्ट्रवाद र धरातलबाट सुरु भएको सेक्युलरिजमको लहरलाई हेर्नुपर्छ ।

 

मजहब त्यागको सबैभन्दा राम्रो उदाहरण इरानमा पाइन्छ । सन् १९७९ को इस्लामिक क्रान्तिदेखि इरानमा कट्टरपन्थीहरूले शासन गरिरहेका छन् । उनीहरूले शरिया कानुन लागू गरेका छन् र दमन तथा हिंसाको सहायताले त्यसलाई पालन गराइरहेका छन् । आधिकारिक रूपमा इरान सरकारले देशमा ९९ प्रतिशतभन्दा बढी नागरिक मुस्लिम भएको दाबी गर्छ । तर, स्वतन्त्र अनुसन्धानले त्यसभन्दा एकदमै फरक चित्र प्रस्तुत गर्छ ।

 

सन् २०२० मा नेदरल्यान्ड्सस्थित अनुसन्धान संस्था गमानले ५० हजारभन्दा बढी इरानीहरूमाझ सर्वेक्षण गरेको थियो । त्यसको नतिजा आश्चर्यजनक थियो । जम्मा ३२.२ प्रतिशत उत्तरदाताहरूले मात्र आफूलाई इरानको शिया मुस्लिमका रूपमा चिनाएका थिए । बाँकीले आफूलाई नास्तिक (९ प्रतिशत), अज्ञेयवादी वा एग्नोस्टिक (६ प्रतिशत ), जोरोस्ट्रियन (७ प्रतिशत), आध्यात्मिक (१५ प्रतिशत) वा अन्यका रूपमा पहिचान गराए । महत्त्वपूर्ण कुरा के छ भने लगभग आधा उत्तरदाताहरूले आफ्नो जीवनकालमा मजहबप्रतिको आस्था हराएको बताएका छन् ।

 

निर्वासित इरानी विश्लेषक पुया दयानिमले टिप्पणी गरेअनुुसार, मस्जिदको पवित्रता अब घरको पवित्रतातर्फ सरेको छ र त्यहाँ सेक्युलरिजम फस्टाउँदैछ । बेलायतको बीबीसी र जर्मनीको डोयच वल जस्ता सञ्चारमाध्यमहरूले इस्लामबाट भइरहेको यो मौन प्रस्थानको पुष्टि गरेका छन् । 


मजहबलाई हतियार बनाइनु यसको मुख्य कारण मानिएको छ । राज्यले भ्रष्टाचार, आर्थिक अव्यवस्था र मानवअधिकार उल्लंघनलाई मजहबी तर्क दिएर जायज ठहर्याउँदा जनताले मजहबलाई नै आफ्नो दुःखको स्रोतको रूपमा हेर्न थाल्छन् ।

 

इरानका फारसीहरू सेक्युलरिजम वा व्यक्तिगत आध्यात्मिकतातर्फ मोडिइरहँदा इरान र इराकमा रहेका कुर्द समुदायहरूले जोरोस्ट्रियन धर्म र याजिदी र यारसानी जस्ता अन्य प्राचीन धर्महरूको पुनरुत्थान भइरहेको अनुभव गरिरहेका छन् ।

 

धेरैजसो कुर्दहरूले इस्लामलाई अरबीहरूले थोपरेको कठोर विश्वास प्रणालीका रूपमा हेर्न थालेका छन् । त्यसलाई ऐतिहासिक रूपमा कुर्द राष्ट्रिय आकांक्षालाई दबाउन प्रयोग गरिएको थियो । इराकी कुर्दिस्तानमा सन् २०१४ मा आईएसआईएस नामक आतंकवादीहरूको उदय एक निर्णायक मोड साबित भयो । कुर्द र अन्य अल्पसंख्यकहरूका विरुद्ध इस्लामिक स्टेटले देखाएको क्रूरताले इस्लामका कट्टरपन्थी मान्यताहरूमाथि व्यापक प्रश्न उठायो ।

 

रोयटर्स समाचार संस्था र अल जजीराले प्रकाशन गरेका सामग्रीमा उल्लेख भएअनुसार, सन् २०१५ देखि इराकी कुर्दिस्तानमा हजारौं कुर्दहरूले आफूलाई आधिकारिक रूपमा जोरोस्ट्रियनको रूपमा दर्ता गराएका छन् । त्यस्ता व्यक्तिको वास्तविक संख्यामा विवाद भए पनि त्यसको सांस्कृतिक प्रभाव निर्विवाद छ । सुलेमानिया र एर्बिलमा शताब्दीयौंपछि पहिलोपटक अग्नि मन्दिरहरू (फायर टेम्पल्स) पुनः खुलेका छन् (जोरोस्ट्रियनहरू अग्निपूजक हुन्) ।

 

कुर्दहरूका लागि जोरोस्ट्रियन धर्म मात्र नभई आस्थाको धरोहर हो । त्यस धर्मले राम्रो सोच, राम्रो शब्द र राम्रो कर्ममा जोड दिन्छ । त्यसले उनीहरूलाई बग्दाद, तेहरान वा अंकारामा देखिने कट्टरपन्थी इस्लामको तुलनामा एक फरक नैतिक मापदण्ड उपलब्ध गराउँछ ।

 

समाजशास्त्रीहरूले लामो समयदेखि सेक्युलरिजमको सिद्धान्तमाथि बहस गर्दै आएका छन् । उनीहरूले समाज आधुनिक हुँदै जाँदा अनिवार्य रूपमा कम धार्मिक बन्छ भनी तर्क गर्छन् । सन् १९९० को दशकमा विश्वव्यापी इस्लामवादको उदयका कारण यो सिद्धान्त खारेज गरिएको भए पनि आसिफ बयात जस्ता विद्वानहरूले पश्चिम एसियाको वर्तमान अवस्थालाई व्याख्या गर्न उत्तर–इस्लामवादको अवधारणा ल्याएका छन् ।


बयातले सम्पादन गरेको पुस्तक ‘पोस्ट इस्लामिजम: द चेन्जिङ फेसेस अफ पोलिटिकल इस्लाम’ मा इस्लामवाद राजनीतिक परियोजनाका रूपमा असफल भइसकेको तर्क गरिएको छ । उत्तर–इस्लामवादी समाजमा मानिसहरू अनिवार्य रूपमा मजहबविरोधी हुँदैनन् तर उनीहरूले राज्यबाट धर्मलाई अलग गर्नुपर्ने माग गर्छन् ।

 

इरानमा भने यो प्रक्रिया अझ अगाडि बढेको छ । राज्य नै मजहबी भएकाले इरानमा सेक्युलरिजमको लहर प्रतिक्रियात्मक छ । युरोपमा जस्तो गरी त्यहाँ सेक्युलरिजम बिस्तारै विकास भएको होइन । इरान र कुर्दिस्तानमा सेक्युलरिजमलाई प्रतिरोधको उपकरणको रूपमा प्रयोग गरिँदैछ ।


मजहबी शासनहरूले भौतिक र अस्तित्वगत सुरक्षालाई खतरामा पारेपछि युवा र शिक्षित पुस्ताहरू पन्थनिरपेक्ष एवं तर्कसंगत मूल्यहरूतर्फ मोडिने गर्छन् भनी रोनाल्ड इंग्लेहार्टको विश्व मूल्य सर्वेक्षण (वर्ल्ड भ्यालुज सर्भे) ले तर्क गर्छ । इरानमा सन् २०२२ मा माहसा अमिनीको मृत्युपछि सुरु भएको महिला, जीवन, स्वतन्त्रता आन्दोलन यसको सबैभन्दा ठूलो प्रमाण हो । यो आन्दोलन हिजाब लगाउनुपर्ने इरानी महिलाको बाध्यताजन्य पीडाको अभिव्यक्ति मात्र थिएन । त्यो त राज्यको आधारभूत मजहबी नैतिकताको अस्वीकार थियो ।

 

इन्टरनेट र स्याटेलाइट टेलिभिजनले मजहबबाट विमुख भइरहेको यस परिवर्तनमा मुख्य भूमिका खेलेका छन् । विगतमा मजहबी प्रवचनमा राज्यको एकाधिकार हुन्थ्यो । आज मनोटो वा इरान इन्टरनेशनल जस्ता फारसी भाषाका च्यानल र इन्स्टाग्राम तथा एक्स जस्ता सामाजिक सञ्जालले मुस्लिमपूर्वका सभ्यताका कथाहरू फैलाउन ठाउँ दिएका छन् ।

 

सन् २०१३ मा प्रकाशित ‘द पोलिटिक्स अफ ट्रुथ म्यानेजमेन्ट इन साउदी अरेबिया’ पुस्तकका लेखक अफशिन शाहीले हालै गरेको टिप्प्णीअनुसार, डिजिटल माध्यमले इरानी र कुर्दहरूलाई इस्लामी अतिक्रमणभन्दा अघिको इतिहास पत्ता लगाउन मद्दत गरेको छ । उनीहरूले आकीमिनेड र सासानिड साम्राज्यको गौरवशाली इतिहास र इस्लामी विनाशभन्दा अघिको समृद्धिलाई सम्झिरहेका छन् ।

 

यस साइबर–जागरणले व्यक्तिहरूलाई इस्लामप्रति शंका गर्ने आफू एक्लो व्यक्ति हैन भन्ने महसुस गराउँछ । ह्याशट्याग एक्समुस्लिम प्रायः ट्रेन्डिङमा आइरहेका हुन्छन् । त्यसले मजहब त्यागका लागि मृत्युदण्डको सजाय हुने देशका बासिन्दाका लागि भर्चुअल समुदाय सिर्जना गरेको छ ।

 

इस्लामी देशका धेरै मानिस नास्तिकता वा जोरोस्ट्रियन धर्मतर्फ आकर्षित भए पनि फारसी र कुर्द जनसंख्याको अर्को ठूलो हिस्सा इसाई रिलिजन, विशेषगरी इभान्जेलिकल प्रोटेस्टेन्टवाद, तर्फ आकर्षित भइरहेको छ । इरानमा चर्चको वृद्धिलाई ट्य्राक गर्ने इलाम मिनिस्ट्रिज जस्ता संस्थाहरूले इरानमा विश्वकै सबैभन्दा तीव्र गतिमा भूमिगत चर्च आन्दोलन चलिरहेको दाबी गरेका छन् ।

 

मार्क ब्राड्लीको पुस्तक ‘टू मेनी टु जेल: द स्टोरी अफ इरान्स न्यु क्रिस्चियन्स’ मा उल्लेख भएअनुसार, इसाई रिलिजनमा देखिने प्रेमको सन्देशले राज्य–प्रायोजित मजहबी हिंसाबाट पीडित मानिसहरूलाई आकर्षित गरेको छ । कुर्दहरू इसाई रिलिजनमा कन्भर्ट हुँदा क्षेत्रीय शक्तिहरूले चाहेको सामूहिक इस्लामिक पहिचानलाई अस्वीकार गर्ने एउटा माध्यम बनेको छ ।

 

फारसी र कुर्दहरूले इस्लाम छोडिरहँदा पश्चिम एसियाको भूराजनीतिमा गहिरो प्रभाव परिरहेको छ । दशकौंदेखि शिया क्रिसेन्ट र सुन्नी ब्लकबीचको द्वन्द्व यस क्षेत्रको मुख्य विशेषता रहेको छ । यी क्षेत्रका जनताले अब आफूलाई यी मजहबी लेबलहरूका साथ चिनाउन छोडे भने तेहरान र रियादको राज्य वैधतामाथि प्रश्न उठ्नेछ ।

 

इरानी जनसंख्याको ठूलो हिस्सा मुस्लिम रहेन भने सर्वोच्च नेता भनी आयातोल्लाह अली खमेनीले आफूलाई पृथ्वीमा ईश्वरको प्रतिनिधि भएको दाबी गर्नुको कुनै अर्थ रहँदैन । यसले शासनको वैधतामा संकट उत्पन्न गर्छ जसलाई दमनमार्फत मात्र व्यवस्थापन गर्न सकिन्छ ।

 

कुर्दहरू इस्लामबाट टाढिँदा टर्की, इराक वा इरान जस्ता इस्लामिक राष्ट्रहरूमा समाहित हुने सम्भावना घट्छ । उनीहरूको पहिचान बढी जातीय र कम मजहबी बन्दै जाँदा स्वतन्त्र कुर्दिस्तानको माग अझ तीव्र हुनेछ ।

 

अझ बढी सेक्युलर वा बहुधार्मिक समाज इरान र कुर्दिस्तानमा विकसित हुँदै गएमा स्वाभाविक रूपमा पश्चिमी देशहरूसँग बढी समन्वय हुनेछ । यस परिवर्तनले नयाँ पश्चिम एसियातर्फ लैजान सक्छ जुन साम्प्रदायिक प्रोक्सी युद्धको सट्टा राष्ट्रिय हित र सेक्युलर शासनद्वारा परिभाषित हुनेछ ।


सन् २०२२ र २०२५/२६ को आन्दोलनपछि इरानी र कुर्द युवाहरूसँग अन्तर्वार्ता लिने पत्रकारहरूले एउटा साझा कुरा पाएका छन् । उनीहरूले आफ्ना बाजेबराजुको मजहबबाट थाकिसकेको प्रतिक्रिया दिएका छन् । तेहरानका एक २४ वर्षीय विद्यार्थीले द गार्डियन पत्रिकालाई बताएअनुसार, मजहबी प्रहरीले उनीहरूलाई विद्यालयमा प्रार्थना गर्न बाध्य पारेका थिए । त्यसले उनीहरूलाई अल्लाहप्रति घृणा जगायो । अहिले उनीहरू प्रकृतिमा, संगीतमा वा कतै पनि नभएको कुरामा आफ्नै भगवान् खोज्छन् ।

 

इराकको सुलेमानिया शहरमा एकजना कुर्द कार्यकर्ताले फ्रान्स २४ सञ्चारमाध्यमलाई बताएअनुसार, आईएसआईएसले उनीहरूलाई राजनीतिक इस्लामको कुरूप अनुहार देखायो । त्यसपछि उनीहरूले त्यसका जोडिइरहनु ठीक नभएको निर्णय गरे । आफूहरू पहिले कुर्द भएको र आध्यात्मिकता सरकारको नभई नितान्त आफ्नै विषय भएको उनीहरूले बताए ।

 

यसरी पश्चिम एसियाको इस्लामी मजहबको एकढिक्का पहिचान अब टुक्रिन थालेको देखिएको छ । फारसी र कुर्दहरू इस्लामबाट विमुख हुनु भनेको प्रामाणिकताको खोजी, स्वतन्त्रताको माग र त्यस क्षेत्रको भविष्य विगतको कट्टरपन्थी विचारले निर्धारण गर्दैन भन्ने घोषणा हो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप लेखहरु